काठमाडौँ । प्रधानमन्त्री कार्यालय अन्तर्गत राखिएको ‘उद्धार अनुरोध पोर्टल‘ मा भोटेकोशीमा बाढीमा १५ हजार ३ सय ९३ जना बेपत्ता रहेको रिपोर्ट गरिएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ६ हजार २ सय २७ जनाको रिपोर्ट आएका थिए । हराएको रिपोर्ट गरिएकामध्ये ६७८ जना १८ वर्षमुनिका बालबालिका छन् । ज्येष्ठ नागरिक ४१५ जना छन् ।
बेपत्ता हुनेमा नेपाल प्रहरीमा २५ जना, नेपाली सेनाका ४५ जना र सशस्त्र प्रहरीका १३ जना रहेको प्राधिकरणले जनाएको छ । भन्सार कार्यालयबाट १५ जना, अध्यागमन कार्यालयबाट ४ जना तथा जलविद्युत आयोजनाबाट ९३३ जना बेपत्ता रहेको जनाइएको छ ।
सम्पर्कविहिनमध्ये ५९२ जना विदेशी नागरिक हुन् । विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १२७ जना छन् ।
‘उद्धार अनुरोध पोर्टल‘ मा जोकसैले रिपोर्ट गर्न सक्ने भएकाले एउटै व्यक्तिको पनि धेरै संख्यामा गरिएको हुन सक्ने आंकलन गरिएको छ ।



