हेटौँडा । बागमती प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटप्रति असन्तुष्ट नेकपाभित्र मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिने विषयमा मतभेद देखिएको छ।
पूर्वमाओवादी पक्ष प्रचण्डसँगको छलफलपछि विश्वासको मत दिन तयार देखिए पनि समाजवादी खेमाले भने अझै असहमति जनाएको छ। असन्तुष्ट सांसदहरूले मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग छलफल गरेका थिए।
छलफलपछि अधिकांश विषयमा सहमति जुटेको र मुख्यमन्त्रीलाई विश्वासको मत दिने वातावरण बनेको नेकपा सचिव गंगानारायण श्रेष्ठले बताए। तर, मन्त्रालय बाँडफाँट र सत्ता साझेदारीका विषयमा पूर्ण सहमति भने भइनसकेको उनले जानकारी दिए।
यता संसदीय दलका उपनेता कृष्ण खनालले भने आफ्नो समूह अझै पुरानै अडानमा रहेको बताएका छन्। प्रचण्ड र माधव नेपालसँगको छलफलबाट ठोस निष्कर्ष नआएको भन्दै उनले विश्वासको मत दिने विषयमा सहमति नभएको दाबी गरेका छन्।


