काठमाडौँ । दोलखाकी अरिस्ता बस्नेत काठमाडौँमा बसेर पढ्दै छिन् । कक्षा १२ मा पढ्ने उनी आइतबार गरिमाको न्यायका लागि माइतीघरमा नारा लगाउँदै थिइन् । उनलाई कसैले आन्दोलनमा जाऊ भनेको होइन । आफै आन्दोलनमा आएकी हुन् । ‘आन्दोलनमा आउन मन थिएन यो त अति भयो अनि आन्दोलनमा आए, ’ उनी भन्छिन् । देशमा छोरीहरू सुरक्षित नभएको उनको बुझाइ छ । आक्रोशित देखिएकी उनी बलात्कारीलाई सरकारले फाँसी नै दिनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘बलात्कारलाई मान्छेहरूले नर्मल सोचिसके । अहिले फाँसी भएको भए मान्छेहरू डराउने थिए । अहिले मान्छेलाई ए त्यो जेल जाने त हो । दाल भात खाने त हो भन्ने भएको छ । सरकारले बलात्कारीलाई फाँसी देओस् । नभएर हाम्रो जिम्मा लगाओस् ।’
सरकारले छोरीहरूको आवाज जसरी भएपनि सुन्नुपर्ने उनको भनाइ छ । बलात्कारीलाई जेल हालेर मात्र समस्याको समाधान नहुने उनको बुझाइ छ । यदि बलात्कार कमी गर्ने हो भने फाँसी नै दिनुपर्ने उनी बताउँछिन् ।
ब्रम्हखेलका आरके लामिछाने कलेजको लुगामा नै प्रदर्शन गर्न माइतीघर पुगेका थिए । बलात्कारका घटनाहरू धेरै सुनिने तर न्याय पाएको भन्ने कम सुनिने हुँदा सरकारलाई दबाब दिन उनी माइतीघर आएको बताउँछन् । नेपालमा बलात्कारीलाई फाँसीको नियम नभएको बताउँदै कानुन भने कडा बनाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘नेपालमा फाँसी को सजाय दिन गाह्रो छ । बनाउन पनि धेरै नियममा बधिँनु पर्ला । तर कानुन कडा बनाएर अब बलात्कार गर्नेलाई के गर्न सकिन्छ । उसको संवेदनशील अङ्गहरू नै परिवर्तन पो गरिदिने हो की त्यस्तो कानुनहरू ल्याउन सकिन्छ ।’
बानेश्वर बस्ने अनुराग लिम्बु पनि गरिमाको न्यायका लागि माइतीघरमा आन्दोलन गर्दै गरिएको भेटिए । नेपालमा कानुन बलियो नहुँदा बलात्कारका घटनाहरू घट्ने गरेको उनी बताउँछन् । बलात्कार कम गर्न के गर्नुपर्ला भन्ने प्रश्नमा भने लिम्बु बाहिर अन्य देशले बनाएको कडा कानुन बनाउनुपर्ने बताउँछन् । त्योसँगै नेपालमा रेड लाइट एरिया पनि तोकियो भने यस्ता घटना घट्न सक्ने उनको अनुमान छ । साथै नेपालमा स्वास्थ्य शिक्षा र नैतिक शिक्षा पनि कमी भएको र आमाबुबा र बालबालिकामा यो शिक्षा बढाउनुपर्ने उनी बताउँछन् । लिम्बु भन्छन्, ‘नेपालमा छोरी मान्छेलाई खेलौना जस्तो मात्र सोचिन्छ । जे गरे पनि हुन्छ जस्तो भाष्य छ । तर त्यस्तो होइन सम्मान गर्नुपर्छ भन्ने शिक्षा सबैमा दिन जरुरी छ । हाम्रो समाजमा शिक्षाको पनि कमी छ । स्वास्थ्यका कुराहरूमा घर परिवारमा खुलेर गरिँदैन । त्यसैले पनि यस्तो घटनाहरू घट्ने गर्दछन् । त्यसैले परिवारमा यस्ता कुरा खुलेर गर्नुपर्दछ ।’
गरिमा चौधरीको बलात्कार पछि हत्या भएपछि सडकमा एउटै लागेको नारा हो बलात्कारीलाई फाँसी दे । भर्खरका युवा हुन् वा छोरीका आमाहरूले सरकारसँग मागेको एउटै कुरा बलात्कारीलाई फाँसी । एउटालाई फाँसी दिए त्यहीँ डरले कसो अरू पछि नहट्लान् भन्ने उनीहरूको धारणा छ । तर फाँसी दिन भने नेपालको संविधानले निषेध गरेको छ । सडकमा चर्को फाँसी को नारा लागेपछि गृहमन्त्री सुधन गुरुङले नै स्टाटस लेखे हाम्रो देशमा फाँसीको सजाय दिन मिल्दैन । उनले लेखेका छन्, ‘मृत्युदण्डको मागमा देखिएको आक्रोशलाई पनि म बुझ्छु। तर नेपालको संविधानको धारा १६ को उपधारा २ ले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेको छ र नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा समेत हस्ताक्षर गरेको छ ।
गृह प्रशासनको मुख्य जिम्मेवारी र सीमा भनेको निष्पक्ष तथा मजबुत अनुसन्धान गर्नु हो, ताकि अनुसन्धानमा कुनै कमी नहोस्, दोषी उम्किन नपाओस् र पीडितले न्याय पाओस्। घटनाको आवेगमा राज्यले तत्काल मृत्युदण्ड दिन सक्ने कानुनी अवस्था छैन।’ उनले कानुन संशोधनमा भने लागि परिरहेको बताएका थिए ।
सरकारले गरिमा चौधरीको परिवारसँग भने सहमति गरिसकेको छ । तर सडकमा भने अझै बलात्कारीलाई फाँसी दे भन्ने नारा नै लागिरहेको छ ।


