काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका आरोप लगाएका छन् ।
बिहीबार बसेको सार्वजानिक लेखा समितिको बैठकमा उनले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाउँदै निश्चित विचौलियाले प्रहरी प्रधान कार्यालय नै कब्जा गरेको दाबी गरेका हुन् ।
प्रहरीले खरिद प्रक्रियामा भएका भनिएका बदमासीसम्बन्धी माग गरिएका कागजात अझै उपलब्ध गराए–नगराएकोबारे समितिमा जानकारी गराउन पनि उनले समिति सभापतिलाई आग्रह गरे ।
उनले अघिल्लो बैठकमा आफूले गरेकाप्रश्नहरूमा अहिले पनि दृढ रहेको उल्लेख गर्दै कसैलाई मानमर्दन भएको लागे अदालतमा गएर मुद्दा हाल्न चुनौती दिए।
‘हामीले १५ दिन भित्र प्रहरीको स्रोत साधन खरिदको विषयमा जानकारी पेश गर्न भनेका थियौं । त्यो आयो कि आएन रु फेरि यो बीचमा प्रहरीले करोडौंको टेन्डर आह्वान गरेको छ । निश्चित बिचौलियाले प्रहरीको हेडक्वाटर कब्जा गरेका छन्’ सांसद सुनारले भने ।
उनले बैठकमा सांसदहरूबीच हुने बहस र व्यवहारप्रति पनि आपत्ति जनाए । समितिको बैठकमा कुनै विषय नियमावलीविपरीत भएमा सभापतिले तत्काल रुलिङ गर्नुपर्ने तर एक सांसदले अर्को सांसदलाई धम्क्याउने, घेराबन्दी गर्ने वा हतोत्साहित गर्ने व्यवहार स्वीकार्य नहुने बताए ।


