काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार आफैं उद्योग चलाउँदै हिँड्ने हो भन्दै प्रश्न गरेको छ। प्रतिनिधिसभाको बैठकमा विशेष समयमा पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारीप्रति प्रश्न उठाएका हुन् ।
‘सबैभन्दा महत्वपूर्ण कुरा सरकार आफैं उद्योग चलाउने होइन । उद्योग चलाउन निजी क्षेत्रलाई सुरक्षित वातावरणका साथ नीति बनाएर अगाडि बढ्नु पर्छ’ सांसद कार्कीको आग्रह छ, ‘सरकारको काम व्यापारी बन्ने होइन । व्यापार गर्ने वातावरण बनाउने हो । सरकारले कारखाना मेसिन चलाउने होइन । नीति र कानुनको मेसिनरी चलाएर निजी क्षेत्रलाई उद्योग चलाउने वातावरण दिने हो।’
बन्द उद्योग बारे सरकारको दृष्टिकोण स्पष्ट हुनुपर्ने उनले बताए। ‘बन्द उद्योग बारे सरकारको दृष्टिकोण स्पष्ट हुनुपर्छ। वर्षौँ सम्म घाटामा उद्योग चलाएर जनताको कर खर्च गर्नु समाधान होइन’ उनले भनेका छन्, ‘सम्भावना भएका उद्योगहरुको व्यावसायिक मूल्यांकन गरौं । निजी क्षेत्रलाई पारदर्शी प्रतिस्पर्धाबाट सहभागी गराऔं र सक्षम व्यवस्थापनलाई जिम्मेवारी दिऔं।’
साथै उनले विकासको प्राथमिकता बदल्नुपर्ने पनि बताए । ‘हामीले सडक बनायौं, पुल बनायौं, सुरुङ बनायौं, विमानस्थल बनायौं यी सबै आवश्यक छन् तर प्रश्न के हो भने यी पूर्वाधार हुँदै जाने बाटोमा नेपाली उत्पादन कहाँ छ ? रोजगारी कहाँ छ ? उद्योग कहाँ छ ?’ उनले प्रश्न गरे ।


