काठमाडौं । प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन निर्देशन दिएका हुन् ।
सभामुख अर्यालले सांसदहरूले लामो समयदेखि प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको माग गर्दै आएको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए ।
उनले नियमावलीका सम्बन्धित व्यवस्थाअनुसार सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिँदै भने, ‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु ।’
सभामुखले रुलिङ गरेपछि पनि केही समय विपक्षी दलका सांसदहरू बैठकमा नबसेपछि उनले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । सभामुख अर्यालले सरकार र प्रधानमन्त्रीका नाममा आफूले रुलिङ गरिसकेको भन्दै सांसदहरूलाई आ–आफ्नो स्थानमा बसेर सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरेपछि विपक्षी सांसदहरू बैठकमा बसेका थिए ।
के छ नियमावलीमा ?
प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था गरिएको छ । उक्त व्यवस्थाअनुसार प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नुपर्ने व्यवस्था छ ।
निर्धारित दिन कुनै कारणले बैठक बस्न नसके त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय प्रत्यक्ष प्रश्नोत्तरका लागि निर्धारण गर्नुपर्ने व्यवस्था पनि नियमावलीमा छ । तर, यो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै सांसदहरूले प्रश्न उठाउँदै आएका छन् ।
नियम ५७ मा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, नियम ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले आफ्नो प्रश्नको विषयबारे बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि सभामुखलाई लिखित जानकारी गराउनुपर्नेछ । प्राप्त प्रश्न स्वीकारयोग्य भए–नभएको निर्णय गर्ने अधिकार सभामुखलाई नियम ५९ ले दिएको छ ।
नियम ६० अनुसार प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले दिएको जवाफमाथि सदनमा थप छलफल भने गर्न पाइने छैन ।
सभामुखको पछिल्लो रुलिङसँगै अब प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रधानमन्त्री तथा सरकारसँग सम्बन्धित प्रश्नको जवाफ दिने बाटो खुलेको छ । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कहिले सञ्चालन हुन्छ भन्ने विषय भने आगामी बैठकको कार्यसूचीमा निर्भर रहनेछ ।


