विराटनगर । जिल्ला कारागार मोरङका कैदीबन्दीले कारागारभित्रै प्रदर्शन गरेका छन् । प्रहरीले कारागारमा खानतलासी सुरु गरेपछि ब्लक ‘बी’ का कैदीबन्दीले छतमा बसेर प्रदर्शन गरेका हुन् ।
विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा सोमबार बिहान करिब ५ बजेदेखि प्रहरीले खानतलासी सुरु गरेको थियो । खानतलासीका क्रममा कैदीबन्दीले प्रहरी टोलीलाई अवरोध गर्दै प्रदर्शन गरेका हुन् ।
घटनास्थलमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहित सुरक्षा अधिकारीको टोली पुगेको छ । कारागारको सुरक्षा अवस्थालाई नियन्त्रणमा राख्दै प्रशासनले खानतलासीको काम अघि बढाएको छ ।
प्रशासनले कारागारमा खानतलासी गर्नुका साथै विवादास्पद छविका अभिषेक गिरीका सहयोगीलाई अन्य कारागारमा स्थानान्तरण गर्ने तयारीसमेत गरेको थियो । सोही क्रममा प्रहरीले खानतलासी सुरु गरेपछि ब्लक ‘बी’ का कैदीबन्दीले विरोध जनाएका हुन् ।
प्रदर्शनमा सहभागी कैदीबन्दीले प्रशासनले आफूहरूलाई पटक–पटक दुःख दिने गरेको आरोप लगाएका छन् । उनीहरूले कारागारभित्रको व्यवहार र प्रशासनको गतिविधिप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका हुन् ।
कारागारभित्रको अवस्था नियन्त्रणमा लिन प्रशासन र सुरक्षा निकायको टोलीले कैदीबन्दीसँग छलफल तथा समन्वय गरिरहेको छ । घटनापछि कारागारको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।


