महाशिवरात्रिमा पशुपतिमा भक्तजनको घुइँचो, चारै ढोका खुला
काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। दर्शनका लागि आएका श्रद्धालुको चाप बढेसँगै पशुपति क्षेत्र भक्तिमय बनेको छ।
पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ३ बजेदेखि नै मन्दिरका चारैवटा ढोका खोलिएका छन्। विभिन्न नाकाबाट भक्तजन पशुपति क्षेत्र प्रवेश गर्ने क्रम जारी रहेकाले गौरीनगरसम्म दर्शनार्थीको लाम पुगेको छ। गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली र पिङ्गलास्थानतर्फबाट पनि भक्तजन पशुपतितर्फ आइरहेका छन्।
विशेषगरी सुन्दरीजलबाट जल बोकेर पशुपतिनाथमा चढाउन आउने भक्तजनको पनि बिहानैदेखि छुट्टै चाप देखिएको छ। दर्शनार्थीलाई सहज र सुरक्षित रूपमा मन्दिर प्रवेश गराउन चारैतिरबाट लामको व्यवस्थापन गरिएको छ। भीड ठूलो भए पनि व्यवस्थापनका कारण लामो समयसम्म कुर्नुपर्ने अवस्था नरहेको कोषले जनाएको छ।

दर्शन व्यवस्थापनका लागि कोषका पदाधिकारी तथा कर्मचारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक संघसंस्थाका स्वयंसेवक परिचालन गरिएको छ। भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै पशुपति क्षेत्रमा प्राथमिक उपचार तथा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ।
सवारी व्यवस्थापनका लागि गौशाला, जयवागीश्वरी, सिफल, मित्र उद्यान, चाबहिल र गौरीनगर क्षेत्रमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ। भक्तजनको चापअनुसार सवारी आवागमनलाई व्यवस्थित गर्ने प्रयास भइरहेको छ।

बिहान ३ बजेदेखि खुलेका पशुपतिनाथका चारै ढोका बेलुका आरती सम्पन्न भएपछि राति ८ बजेसम्म खुला रहनेछन्। विशेष पूजा भने बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र सञ्चालन हुने व्यवस्था मिलाइएको छ।
पशुपतिनाथसँगै उपत्यकाका अन्य प्रमुख शिवालयमा पनि महाशिवरात्रिको रौनक देखिएको छ। गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर तथा वसन्तपुर दरबार क्षेत्रको ‘सानो पशुपतिनाथ’का रूपमा परिचित मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।
महाशिवरात्रिको दिन काठमाडौंका शिवालयहरूमा देखिएको भक्तजनको चापले धार्मिक आस्था, संस्कृति र परम्पराको उत्सवलाई थप जीवन्त बनाएको छ।


