काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले सरकारले इमानदारीका साथ काम गर्न खोजेको देखिए पनि परिणाम दिने कार्यशैली कमजोर रहेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारलाई नियतभन्दा पनि काम गर्ने ढंग सुधार्न सुझाव दिए।
‘अहिलेको सरकारको निष्ठा र नियतमाथि शंका छैन, तर काम गर्ने शैलीमा सुधार आवश्यक देखिन्छ,’ उनले भने, ‘आफूलाई सबै कुरा थाहा छ भन्ने सोचले विकास रोक्छ, सिक्ने र सुधार्ने संस्कृतिबाट मात्रै देश अघि बढ्छ।’
झाले गुगलका सीईओ सुन्दर पिचाईको भनाइ उद्धृत गर्दै ज्ञान, सिकाइ र आत्मसमीक्षा बिना प्रभावकारी शासन सम्भव नहुने बताए। शिक्षित र सचेत समाजबाट मात्रै लोकतन्त्र, सुशासन र सामाजिक न्याय सुदृढ हुने उनको भनाइ थियो।
उनले मधेश अझै पनि असन्तुष्ट रहेको उल्लेख गर्दै सरकारले त्यहाँका नागरिकको भावना बुझ्नुपर्ने बताए। सीमा क्षेत्रमा गरिब नागरिकमाथि कडाइ गरिने तर एयरपोर्टबाट धनी वर्गलाई सहज व्यवहार गरिने प्रवृत्तिमाथि प्रश्न उठाउँदै उनले ‘गरिब र धनीका लागि फरक नियम किन?’ भन्ने प्रश्न गरे।
अर्थतन्त्र सुधारका लागि मधेश, प्रवासी नेपाली र निजी क्षेत्रलाई सरकारको साझेदार बनाउनुपर्ने उनको जोड थियो। प्रवासी नेपालीको लगानी आकर्षित गर्न नागरिकता, भिसा र लगानीसम्बन्धी नीतिमा सुधार आवश्यक रहेको उनले बताए।
साथै, निजी क्षेत्र अहिले असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै उनले भने, ‘प्रहरी देख्दा सुरक्षा होइन, छापा र धरपकडको डर हुने वातावरण अर्थतन्त्रका लागि राम्रो संकेत होइन।’ सरकारले निजी क्षेत्रसँग विश्वासको सम्बन्ध निर्माण गर्नुपर्ने उनको आग्रह थियो।


