काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ सार्वजनिक गर्दै उम्मेदवार छनोट प्रक्रियामा ‘जिरो टोलरेन्स’ नीति लागू गरेको छ।
साउन १३ गतेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको रूपरेखाअनुसार भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गरिनेछ। पार्टीका अनुसार योग्य, इमानदार र सक्षम उम्मेदवार छनोट गर्ने उद्देश्यले यो प्रक्रिया सुरु गर्न लागिएको हो।
रूपरेखाले उम्मेदवार छनोटमा आर्थिक चलखेल, घुस, चन्दा, उपहार वा कुनै पनि प्रकारको प्रभाव पार्ने गतिविधिमा पूर्ण प्रतिबन्ध लगाएको छ। यस्ता गतिविधिमा संलग्न हुने दिने र लिने दुवै पक्षलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिने उल्लेख छ।
त्यस्तै, आन्तरिक मतदानमा धाँधली, तथ्याङ्क तोडमोड, नक्कली कागजात प्रयोग, गोप्य सूचना चुहावट, गुटबन्दी, दुष्प्रचार र चरित्रहत्या जस्ता गतिविधिलाई गम्भीर अनुशासनहीनता मान्दै कडा कारबाही गर्ने व्यवस्था गरिएको छ।
रास्वपाले उजुरीका आधारमा मात्र होइन, तथ्य, प्रमाण र छानबिनपछि मात्रै कारबाही गरिने स्पष्ट गर्दै उम्मेदवार छनोटलाई पारदर्शी, निष्पक्ष र विधिसम्मत बनाउने लक्ष्य रहेको जनाएको छ।


