काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउन विगतका कमजोरीको गम्भीर समीक्षा र आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।
२४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट आन्दोलनका सबै धार एकै उद्देश्यमा रहेको उल्लेख गर्दै अब इतिहासबाट शिक्षा लिएर नयाँ कार्यदिशा, नीति र कार्यक्रम तय गर्नुपर्ने बेला आएको बताए।
प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाउँदै ‘झण्डै दुई तिहाइको भनिएको सरकारले गरेका काम, कारबाही र गतिविधिले जनतामा सन्त्रास पैदा गरेको’ आरोप लगाए। उनका अनुसार अहिलेको राजनीतिक परिस्थितिले कम्युनिस्ट शक्तिहरूलाई विगतको समीक्षा गर्दै नयाँ ढंगले अघि बढ्न बाध्य बनाएको छ।
उनले सीपी गजुरेल, शंकर पोखरेल र माधव नेपाललगायत नेताहरूले पनि इतिहासको समीक्षा, गल्तीको आत्मसमीक्षा र भविष्यको स्पष्ट कार्यदिशा निर्माणमा जोड दिएको उल्लेख गर्दै निराश नभई नयाँ संकल्पका साथ अघि बढ्नुपर्ने बताए।
प्रचण्डले इतिहासका सफलतासँगै कमजोरीबाट पनि शिक्षा लिन सके मात्रै कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ बनाउन सकिने धारणा व्यक्त गरे।


