काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रसाईंलाई उनी निवासबाटै नियन्त्रणमा लिइएको हो। पक्राउको कारणबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन। यद्यपि, उनीमाथि पछिल्ला गतिविधि र सार्वजनिक अभिव्यक्तिसम्बन्धी विषयमा अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।
प्रसाईंले सोमबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ आन्दोलनको घोषणा गर्ने तयारी गरेका थिए। तर पत्रकार सम्मेलन हुनुअघि नै प्रहरीले उनलाई पक्राउ गरेको हो।
दुर्गा प्रसाईं यसअघि पनि विभिन्न राजनीतिक तथा सामाजिक विषयमा विवादास्पद र भड्काउ अभिव्यक्ति दिँदै आएका थिए। उनका अभिव्यक्तिलाई लिएर विभिन्न समयमा आलोचना हुँदै आएको थियो भने केही अभिव्यक्तिका विषयमा प्रहरीमा उजुरीसमेत परेका थिए।
प्रहरीले पक्राउसँग सम्बन्धित थप विवरण र अनुसन्धानको प्रकृतिबारे औपचारिक जानकारी केहीबेरमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। साथै, प्रसाईंविरुद्ध कुन कानुनी आधारमा कारबाही अघि बढाइएको हो भन्ने विषय पनि प्रहरीले स्पष्ट पार्ने जनाएको छ।


