काठमाडौं । काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा गरगहना लुटपाट गर्दै आतंक मच्चाएको आरोपमा ‘कर्मा समूह’का पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। समूहका मुख्य नाइके सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङलाई बुढानीलकण्ठबाट प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र आले गुरुङ पनि छन्। प्रहरीले उनीहरूलाई काभ्रे र काठमाडौंबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार समूहले विशेषगरी वृद्धवृद्धालाई निशाना बनाएर मोटरसाइकलमा पुग्ने, बाटो सोध्ने बहाना गर्ने र गलामा लगाएका सुनका सिक्री तथा गरगहना लुट्ने गरेको थियो। प्रतिकार गर्नेमाथि कुटपिटसमेत गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
मुख्य आरोपी कर्माले पक्राउबाट बच्न खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि चेतावनीस्वरूप हवाई फायर गरिएको र त्यसपछि खुट्टामा गोली हानी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीले घटनास्थलबाट मोटरसाइकल, खुकुरी, विभिन्न नम्बर प्लेट तथा चोरीमा प्रयोग हुने औजार बरामद गरेको छ। पक्राउ परेका सबैविरुद्ध डाँका, चोरी तथा अन्य आपराधिक मुद्दामा यसअघि पनि पटक–पटक कारबाही भइसकेको प्रहरीको भनाइ छ।


