काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यहरू हिन्दूवादी अभियन्ता हुन पाउने बताएका छन्। जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दू सम्राट सेनाको तर्फबाट सरकारसँग भएको वार्तामा सहभागी एक प्रतिनिधि रास्वपाको सदस्य भएको स्वीकार गरे।
झाका अनुसार कुनै पार्टीको सदस्य हुनु र धार्मिक आस्था वा अभियानमा सहभागी हुनु व्यक्तिगत स्वतन्त्रताको विषय हो। उनले वार्तामा सहभागी भएकै आधारमा विवाद सिर्जना गर्नु उचित नभएको बताए।
उनले रास्वपाका सदस्यकै पहलमा आन्दोलनलाई हिंसात्मक बाटोमा जान नदिई वार्तामार्फत समाधान खोज्न सहयोग पुगेको दाबी गर्दै हिन्दू सम्राट सेनाका मागहरूबारे सरकारले थप छलफल गर्ने बताए।


