बुटवल । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोपपछि सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ।
स्थानीयका अनुसार वर्षायामको बाढी रोक्न सुस्ता गाउँपालिका–५ मा १३२ मिटर लामो माटोको अस्थायी बाँध निर्माण भइरहेको बेला भारतीय पक्ष आएर बाँध भत्काएको हो। ‘सुस्ता बचाउ युवा अभियान’ले एसएसबी सीमा क्षेत्र पार गर्दै नेपालतर्फ प्रवेश गरेको दाबी गरेको छ।
बाँध भत्काइएपछि स्थानीयवासी विरोधमा उत्रिएका थिए। घटनापछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताएका छन्। उनका अनुसार अहिले अवस्था सामान्य रहेको छ।
सुस्ता नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा रहँदै आएको छ। यसअघि पनि भारतीय पक्षको अवरोधका कारण बाँध निर्माणको काम रोकिएको थियो। नेपाली पक्षले घटनाबारे आवश्यक समन्वय र थप पहलको माग गरेको छ।


