काठमाडौं । नेपाल आयल निगमले पूरा तौल (१४.२ किलो) को ग्यास सिलिन्डर वितरण सुरु गरेको भए पनि बजारमा आपूर्ति सहज हुन सकेको छैन। डिलरहरूमा ग्यास नपाएपछि उपभोक्ताहरू उद्योग र निगमको बिक्री केन्द्रमा लामो लाइन बस्न बाध्य भएका छन्।
निगमले असार ३१ गतेदेखि सबै उद्योगलाई पूरा तौलको सिलिन्डर मात्रै बिक्री गर्न निर्देशन दिएको थियो। भारतबाट पर्याप्त ग्यास आयात भइरहेको र अभाव नरहेको निगमको दाबी छ।
तर उपभोक्ताहरूले बजारमा कृत्रिम अभाव सिर्जना गरिएको आरोप लगाउँदै प्रभावकारी अनुगमनको माग गरेका छन्। यता निगमले टेकुस्थित बिक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास बिक्री सुरु गरे पनि त्यहाँसमेत उपभोक्ताको लामो लाइन देखिएको छ।


