काठमाडौं । मधेश प्रदेशसहित देशका विभिन्न क्षेत्रमा बढ्दो साम्प्रदायिक तनाव र प्रदर्शनका घटनाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सामाजिक सद्भाव कायम राख्ने पहलमा सक्रिय भएका छन्।
शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा लामिछानेले मुस्लिम र हिन्दु समुदायका धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफल गरेका हुन्। उनले मुस्लिम समुदायका तर्फबाट मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका छन्।
त्यसैगरी, विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि उनले छलफल गरेका छन्।
छलफलका क्रममा लामिछानेले सुनसरी, सिराहा लगायत देशका विभिन्न स्थानमा देखिएको तनावलाई थप नबढाउन दुवै समुदायका धार्मिक अगुवालाई सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन्। उनले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न, अफवाहबाट टाढा रहन र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आफ्ना समुदायमा अपिल गर्न अनुरोध गरेको रास्वपाले जनाएको छ।
पछिल्ला घटनाक्रमका कारण विभिन्न जिल्लामा सुरक्षा सतर्कता बढाइएका बेला लामिछानेले सबै पक्षलाई संयमता अपनाउँदै संवाद र सहकार्यबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।


