काठमाडौं। सुनसरीबाट सुरु भएर कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको तनावका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सक्रिय रूपमा संवाद र परामर्शमा जुटेका छन्। पछिल्लो सुरक्षा अवस्था, सामाजिक सद्भाव र समाधानका उपायबारे उनले कोशी र मधेश प्रदेशबाट निर्वाचित पार्टीका सांसदहरूसँग निरन्तर छलफल गरिरहेका छन्।
रास्वपाका अनुसार सभापति लामिछानेले प्रभावित क्षेत्रका सांसदहरूको प्रत्यक्ष अनुभव, स्थानीय अवस्थाबारे जानकारी तथा सम्भावित समाधानका उपायहरू सुनेका छन्। छलफलमा सांसदहरूले सुरक्षा चुनौती, स्थानीय जनताको चिन्ता, प्रशासनको भूमिका र आवश्यक राजनीतिक पहलका विषयमा आफ्ना धारणा राखेका थिए।
यसअघि पनि लामिछानेले मधेशका सांसदहरूसँग छुट्टै बैठक गरी सामाजिक सद्भाव कायम राख्न सरकारको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए। छलफलका क्रममा केही सांसदहरूले गृहमन्त्रीबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग पर्याप्त समन्वय नभएको गुनासो समेत गरेका थिए।
रास्वपाले सरकारको कदमको प्रतीक्षा मात्र नगरी विभिन्न राजनीतिक दलसँग संवाद बढाउने र सामाजिक सद्भाव कायम राख्न साझा पहल गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ।
यसबीच रवि लामिछानेको सक्रिय भूमिकाले राजनीतिक वृत्त र सामाजिक सञ्जालमा पनि चर्चा पाएको छ। समर्थकहरूले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्दै समाधान खोज्ने प्रयासलाई सकारात्मक रूपमा व्याख्या गरेका छन्। यद्यपि, यसबारे फरक–फरक राजनीतिक धारणा पनि सार्वजनिक भइरहेका छन्।
तनावग्रस्त क्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सबै पक्षबीच संवाद र सहकार्य आवश्यक रहेकोमा रास्वपाले जोड दिएको छ।


