काठमाडौं । नेपालकै पहिलो आधुनिक सिस्नेखोला–नागढुंगा सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि जापानी राजदूत माएदा तोरु र जाइका नेपालका प्रतिनिधिहरूको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिनेछ।
सडक विभागका अनुसार उद्घाटनकै दिन एम्बुलेन्स, सुरक्षा निकाय तथा अन्य आकस्मिक सेवाका सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइनेछ। ती सवारीको आवागमनमार्फत सुरुङमार्गको प्राविधिक परीक्षण गरिनेछ। त्यसपछि साउनको अन्तिम साता वा भदौको पहिलो सातादेखि सर्वसाधारणका नियमित सवारीसाधनका लागि खुला गरिने तयारी छ।
सुरुङमार्ग प्रयोग गर्दा काठमाडौं प्रवेश गर्ने कार तथा भ्यानले ६५ रुपैयाँ, मिनीबस तथा ट्रकले ११५ रुपैयाँ, ठूला बस तथा ट्रकले २६० रुपैयाँ र भारी उपकरणले ६०० रुपैयाँ टोल तिर्नुपर्नेछ। काठमाडौंबाट बाहिरिने कार तथा भ्यानका लागि ६० रुपैयाँ, मिनीबस तथा ट्रकका लागि ८० रुपैयाँ, ठूला बस तथा ट्रकका लागि २०० रुपैयाँ र भारी उपकरणका लागि २५० रुपैयाँ शुल्क तोकिएको छ। एम्बुलेन्सजस्ता आकस्मिक सेवाका सवारीलाई भने कुनै शुल्क लाग्ने छैन।
परियोजनाअन्तर्गत २,६८८ मिटर लामो मुख्य सुरुङ र २,५५७ मिटरको उद्धार (रेस्क्यु) सुरुङ निर्माण गरिएको छ। मुख्य सुरुङ नियमित यातायातका लागि प्रयोग हुनेछ भने रेस्क्यु सुरुङ आपत्कालीन उद्धारका लागि उपयोग गरिनेछ।
यो सुरुङमार्ग सञ्चालनमा आएपछि सडक दूरी करिब २.८ किलोमिटरले घट्ने र काठमाडौं प्रवेश गर्दा ३३ मिनेट तथा बाहिरिँदा २३ मिनेटसम्म यात्रा समय बचत हुने अपेक्षा गरिएको छ। मोटरसाइकल, तीनपांग्रे सवारीसाधन र इन्धन बोकेका ट्यांकरलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।


