काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ।
मंगलबार स्थानीयवासीले ट्यांकीभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार मृतक दुवै पुरुषको हालसम्म पहिचान खुल्न सकेको छैन। शवलाई ट्यांकीबाट निकाल्ने, मुचुल्का उठाउने तथा पोस्टमार्टमका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाको कारण तत्काल खुल्न नसकेको र मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको छ। घटनास्थलबाट आवश्यक प्रमाण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृतकको पहिचान खुलाउने प्रयाससँगै घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ। पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ।


