काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको निवास पुर्याएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थल परिसरभित्र पत्रकार सम्मेलन गरी सार्वजनिक सम्बोधन गर्ने तयारी गरेका थिए। निषेधित क्षेत्रभित्र पूर्वअनुमतिबिना कार्यक्रम गर्न नमिल्ने भएकाले प्रहरीले हस्तक्षेप गरेको उनले बताए।
प्रहरीका अनुसार प्रसाईंलाई सामान्य नियन्त्रणमा लिएर आवश्यक सोधपुछपछि भक्तपुरस्थित उनको घरसम्म पुर्याइएको हो। घटनाका क्रममा कुनै अप्रिय अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ।
प्रसाईंले हालै उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनामा न्यायको माग गर्दै विमानस्थलमै विशेष सम्बोधन गर्ने तयारी गरेका थिए। सोही उद्देश्यका साथ उनी विमानस्थल पुगेका थिए।
सुरक्षा संवेदनशील क्षेत्र भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पूर्वस्वीकृतिबिना कुनै पनि प्रकारका सभा, प्रदर्शन वा पत्रकार सम्मेलन गर्न नपाइने व्यवस्था रहेको छ। प्रहरीले सोही व्यवस्थाअनुसार आवश्यक सुरक्षा सतर्कता अपनाउँदै प्रसाईंलाई निषेधित क्षेत्रबाट हटाएको जनाएको छ।
यस घटनापछि गणेश नेपाली प्रकरणलाई लिएर विभिन्न व्यक्ति तथा समूहले न्यायको माग गर्दै सार्वजनिक अभिव्यक्ति र दबाबमूलक कार्यक्रमहरू गरिरहेका छन्।


