काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले गणेश नेपालीकी छोरीलाई स्नातक तहसम्मको अध्ययन खर्च व्यहोर्ने घोषणा गरेपछि उनको विगतको प्रतिबद्धता र कार्यान्वयनबारे पुनः बहस सुरु भएको छ।
काठमाडौं महानगरपालिकासँग जोडिएको गणेश नेपाली प्रकरणपछि बस्नेतले उनकी छोरीको उच्च शिक्षाको जिम्मेवारी लिने घोषणा गरेका थिए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत स्नातक तहसम्म अध्ययनका लागि आवश्यक सहयोग गर्ने बताएका हुन्।
तर, बस्नेतको पछिल्लो घोषणासँगै यसअघि चर्चामा आएको प्रेमप्रसाद आचार्य प्रकरण पनि पुनः सतहमा आएको छ। आचार्यकी पत्नीले विगतमा बस्नेतबाट गरिएको सहयोगको प्रतिबद्धता व्यवहारमा पूरा नभएको गुनासो गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत सहानुभूति देखाउने तर प्रतिबद्धता पूरा नगर्ने प्रवृत्तिमाथि प्रश्न उठाएकी हुन्। पीडित परिवारको पीडालाई केवल चर्चाका लागि प्रयोग गर्न नहुने भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्।
प्रेमप्रसाद आचार्यले काठमाडौंको संसद् भवन अगाडि गरेको आत्मदाह घटनापछि तत्कालीन राज्य व्यवस्था र राजनीतिक नेतृत्वको भूमिकामाथि व्यापक बहस भएको थियो। त्यसपछि विभिन्न व्यक्ति तथा नेताहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
गणेश नेपालीकी छोरीको शिक्षाको जिम्मा लिने बस्नेतको घोषणापछि भने सहयोग वास्तविक जिम्मेवारी हो कि सहानुभूति बटुल्ने प्रयास भन्ने विषयमा सार्वजनिक बहस सुरु भएको छ।


