काठमाडाैं । विभिन्न माग राखेर आन्दोलन गरिरहनु भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच टोली बनाएर विस्तृत वार्ता गर्ने सहमति भएको छ । आइतबार दिउँसो रक्षा मन्त्रालयमा भएको सम्वादमा दुवै तर्फबाट एउटा टोली बनाएर विस्तृत वार्ता गर्ने सहमति भएको पुनले जानकारी दिनुभयो ।
पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने र नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी वार्ताबाट निर्णय भएको बताउनु भयो । उहाँका अनुसार वार्तामा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र मुख्य सचिव शंकरदास वैरागी सहभागी हुनुहुन्थ्यो भने पुनसँगै उहाँका दुई जना प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । ‘रक्षा मन्त्रालयमा उपप्रधानमन्त्रीसँग भएको वार्ता सकारात्मक भएको छ । उहाँले केही सुझाव माग्नुभयो,’ सम्वादपछि पुनले भन्नु भयो, ‘कसरी अगाडि जाने भन्ने निर्णय गरेका छौँ । साँझ ५ बजेसम्म दुवै पक्षको टोली बनाएर विस्तृत वार्ता गर्ने निर्णय भएको छ । सकेसम्म रातारात गर्ने नभए भोलिसम्म माग पुरा गर्ने निर्णय भएको छ ।’
पुन अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै विभिन्न चार बुँदे मागसहित शुक्रवारबाट माइतीघर मण्डलामा धर्ना बस्नु भएको छ ।