काठमाडौं । कोशी प्रदेशको भ्रमणमा रहनु भएका एमाले अध्यक्ष केपी ओली पहिचानवादीहरुको विरोध झेलीरहनु भएको छ । हिजो बिहीबार गृहजिल्ला झापामा उहाँ लाई पहिचानवादीले कालो झण्डा देखाउनुका साथै नाराबाजीसमेत गरेका थिए । हिजो नै झापाबाट इलाम जानुभएका ओलीलाई त्यहाँ पनि कालो झण्डा देखाइयो । आज फेरी उहि घट्ना दोहोरिदै उहाँको जन्मथलो तेह्रथुमको आठराईमा पहिचानवादीहरूले कालो झण्डा देखाएका छन् । तेह्रथुम बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्न आठराई जानुभएका ओलीलाई पहिचानवादी समूहले कालो झण्डा देखाएको हो ।
लिम्बु जातिको लोगो सिलाम साक्मा लगाएर जानुभएका ओली लाई शुक्रबार आठराई ५ छातेढुंगामा कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका पहिचानवादी समूहले ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन् । त्यसक्रममा एमालेका कार्यकर्ताहरुले नाराबाजी गर्दै पहिचानवादीको प्रतिकार गरेका थिए । कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका समूहलाई प्रहरीले लाठी चार्जसमेत गरेको छ।