कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाइमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो। समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले जानकारी दिए।
गत शुक्रबार डिभिजन वन कार्यालय कैलालीले अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेका बेला गोदावरी सामुदायिक वन क्षेत्रभित्र एउटा टेम्पो भीरबाट खसालिएको थियो। घटनासम्बन्धी फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रदेश सरकारको चर्को आलोचना भएको थियो।
छानबिन समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।
समितिलाई घटनाका सबै पक्षको अध्ययन, आवश्यक प्रमाण संकलन तथा सम्बन्धित निकायसँग समन्वय गरी वस्तुनिष्ठ प्रतिवेदन तयार गर्न जिम्मेवारी दिइएको छ।
यसअघि जिल्ला वन कार्यालय कैलालीका प्रमुख रामविचारी ठाकुरले टेम्पो नियतवश भीरबाट नखसालिएको दाबी गरेका थिए। हाल ठाकुरसहित घटनामा संलग्न कर्मचारीहरू जिल्ला प्रहरी कार्यालय कैलालीको निगरानीमा रही सोधपुछमा रहेका छन्।प्रदेश सरकारले छानबिन प्रतिवेदनका आधारमा आवश्यक निर्णय र कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।
टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन
टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन
तपाईको प्रतिक्रिया

