काठमाडौं । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित ७ जनाविरुद्ध कर्मचारी र व्यक्तिहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । मेयर सिंहले अर्कैको छोरीलाई आफ्नो छोरी बनाई झूटो विवरणको आधारमा नागरिकता दिलाएको ठहरसहित अख्तियारले उनीहरूविरुद्ध मुद्दा चलाएको हो ।
अख्तियारले मेयर सिंहलाई मतियारको रूपमा मुख्य कसुरदार सरह सजायको माग गरेको छ । नागरिकता लिनेकी आमा रिता भट्टराई, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडाध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ । गलत छानबिन प्रतिवेदन तयार पारेको अभियोगमा गृह मन्त्रालयका कर्मचारी पुस्कर राना र परशुराम पोखरेललाई पनि कसुरदार मानेर मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार मेयर राजेशमान सिंहले सिन्धुपाल्चोककी रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नै छोरी भनी झुटा विवरण पेस गरेका थिए । उनले वीरगञ्ज महानगरपालिका वडा नं. ३ बाट रुविनाको जन्मदर्ता बनाउन सूचकको रूपमा काम गरेका थिए । सोही जन्मदर्ताको आधारमा २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय, पर्साबाट रुविनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी थिइन् । छानबिनका क्रममा सरकारी निकायको कागजातमा अनधिकृत रूपमा सच्याउने, केरमेट गर्ने र कागजात लुकाउने जस्ता गैरकानुनी कार्य भएको भेटिएको अख्तियारले जनाएको छ ।
गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले समेत दोषीलाई बचाउने गरी गलत प्रतिवेदन तयार पारेको अख्तियारले जनाएको छ । समितिका तत्कालीन संयोजक (उपसचिव) पुस्कर राना र सदस्य (शाखा अधिकृत) परशुराम पोखरेलले वास्तविक तथ्य लुकाएर र प्रमाणहरू नष्ट भएको भन्दै गलत प्रतिवेदन बुझाएको अख्तियारको भनाइ छ । आयोगले उनीहरू सबैलाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र जरिवानाको सजायको माग गरेको छ ।

