काठमाडौं । महानगरपालिकाको शिक्षा विभागमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले लगाएको ताला महानगरले फोरिदिएको छ । ताला फोरेको भिडियो सामाजिक सञ्जालमा राख्दै महानगरका मेयर बालेन शाहले भन्नु भएको छ, ‘विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं । यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमूक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छ ।’
महानगरले दलका भातृ संगठनलाई विद्यालय परिसरमा कार्यक्रम गर्न नदिने घोषणा गरेपछि उक्त निर्णयको विरोध गर्दै विद्यार्थी युनियनले बिहीबार ताला लगाएको थियो । महानगरपालिकाले बुधबार सूचना जारी गर्दै महानगरका सामुदायिक विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनका कार्यक्रम हुने गरेको जानकारी प्राप्त भएको भन्दै उक्त सूचना पुष्टि भए सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनि दिएको थियो ।