काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरेक ५ वर्षमा गर्नुपर्ने सवारी लाइसेन्स नवीकरण अब १० वर्षमा गर्न मिल्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताउनु भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा मन्त्री ज्वालाले लाइसेन्सका लागि नयाँ कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिनु भयो ।
‘पाँच वर्षमा नवीकरण गर्न झन्झटिलो हुने भएकाले १० वर्षमा नवीकरण गर्ने कानुनी व्यवस्थाका लागि काम अगाडि बढाएका छौं । यसले नयाँ स्मार्ट कार्ड छाप्ने लोड पनि कम हुने विश्वास लिएका छौं,’ उहाँले भन्नु भयो ।
सवारीसाधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको भाषामा तीन विकल्प राखिने पनि तयारी भइरहेको उहाँले बताउनु भयो । मन्त्री ज्वालाले सवारीसाधनमा इम्बोस्ड नम्बर अंग्रेजीमा मात्रै प्रिन्ट भएकोमा केही आलोचना र गुनासो आएको भन्दै मन्त्रिपरिषद्बारा निर्णय गरेर अंग्रेजी, नेपाली र नेपाली र अंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको बताउनु भयो
नेपालमा उत्पादित ‘यात्री’ मोटरसाइकलको दर्ताबारे कार्यविधि जारी गरेर अगाडि बढ्ने सरकारले निर्णय गरेको पनि मन्त्री ज्वालाले जानकारी दिनु भयो।