काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निष्कासन गरेका सांसद ढाकाकुमार श्रेष्ठको स्थान आज रिक्त हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा आजै कारवाहीको सूचना दिन लाग्नु भएको हो।
कुनैपनि दलबाट निर्वाचित सदस्यलाई उक्त पार्टीले निष्कासन गरेपछि सांसदको पद रिक्त हुने व्यवस्था राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ मा उल्लेख रहेको छ । यसरी दलले गरेको कारवाहीको सूचना सभामुखले प्रतिनिधि सभा बैठकमा सुनाउनुपर्नेछ । संसद बैठक नचलेको अवस्थामा सभामुखले यस्तो सूचना टाँस गर्नुपर्ने व्यवस्था उक्त ऐनमा रहेको छ।
वैशाख ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निष्कासन गरेको पत्र संसद सचिवालयलाई दिएको थियो ।