काठमाण्डौ। श्रीमतीलाई जंगलमा लगेर हत्या गरेको अभियोगमा पक्राउ परेका नेपाली सेनाका एक जवानलाई जिल्ला अदालत सुर्खेतले जन्मकैदको फैसला सुनाएको छ। बुधबार जिल्ला न्यायाधीस बसन्तराज जोशीको इजलासले नेपाली सेनाका जवान २८ वर्षीय दर्शन खत्रीलाई जन्मकैद अर्थात २५ वर्ष कैद सजाय र पीडितका आफन्तलाई ३ लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले बताए।
गत वैशाख २१ गते नेपाली सेनाको वीरदल गण, पाँचथरमा पिउठ पदमा कार्यरत खत्रीले २६ वर्षीया श्रीमती प्रेमा वली खत्रीको जंगलमा लगेर हत्या गरेका थिए। प्रेमा गुर्भाकोट नगरपालिका–५ थक्लेनीमा ५ वर्षीया छोरीसहित बस्दै आएकी थिइन्। उनको माइती घर पनि सोही वडाको तोरीबारीमा थियो। दर्शन र प्रेमाले सात वर्षअघि प्रेम विवाह गरेका थिए।
तर, पछिल्लो समय दर्शनको शंका उपशंकाका कारण उनीहरूबीचको सम्बन्ध उति राम्रो थिएन। सोही कारण दसैंको बिदापछि दर्शन श्रीमतीलाई भेट्न आएका थिएनन्। तर, उनले अन्तिममा आफूले अर्कै व्यक्तिको हातबाट सामान पठाइदिएको भन्दै सामान लिन जानू भनेको हुँदा प्रेमा भेरीगंगा नगरपालिका–१२ छिन्चुमा त्यो दिन साँझपख पुगेकी थिइन्।
अर्कै व्यक्तिको हातबाट सामान पठाइदिएको भने पनि त्यहाँ दर्शन स्वयं आएका थिए। भेटपछि श्रीमान–श्रीमती केहीबेर गफिँदै हिँड्छन्। तर, उनीहरूका बीचमा केहीबेरमै विवाद सुरू हुन्छ। दुवै जना झिगेनारा खोलाको पुल तरेर उत्तर–पूर्वको रामजानकी सामुदायिक वनतर्फ हिँड्दै जान्छन्। सामान्य भनाभन र विवादकै बीचमा दर्शनले ढुंगा उठाएर श्रीमती प्रेमाको टाउकोमा प्रहार गरेपछि उनी भुइँमा ढलेकी थिइन्। तत्कालीन समय प्रहरीले दिएको जानकारी अनुसार त्यसपछि दर्शनले सलले घाँटीमा कसेर घिसार्दै केहीपर पानी भएको खाडलमा शव फालेर हिँडेका थिए।
झुन्डिएर आत्महत्या गरेको जस्तो देखाउन प्रेमाको घाँटीमा सलले कसेर घिसार्दै पानीमा फालिदिएको बयान दर्शनले प्रहरीसमक्ष गरेका थिए। प्रेमाको हत्यापछि दर्शन सुर्खेतको एक होटलमा गई त्यहाँ आफ्नो झोला राखी गाडी चढेर गुर्भाकोटस्थित आफ्नो घर गएका थिए। त्यो रात उनी घरमै बास बसेका थिए। २२ गते दिउँसो थाकल खान जंगल गएका स्थानीयले प्रेमाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रेमाको पहिचान खुलेपछि दर्शनको खोजी भएको थियो। उनी बिदामा घर आएको थाहा भएपछि प्रहरीले सोधपुछका लागि दर्शनलाई घरबाटै नियन्त्रणमा लिएको थियो। सोधपुछ क्रममा उनले घटना स्वीकारेका थिए।
घटनास्थलमा प्रहरीले ढुंगा प्रहारपछि प्रेमा भुइँमा लड्दा लागेको रगत, घाँटीमा सलले बाँधेर घिसारिएको बाटो र जंगलमा फालेको प्रेमाको मोबाइल पनि फेला पारेको थियो।

