काठमाडौं । सरकारले डोजर चलाउने तयारी गरेपछि थापाथलीस्थित सुकुम्बासी बस्तीका बासिन्दाहरुले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय घेराउ गर्ने भएका छन् । पार्टी सभापति रवि लामिछानेले चुनावमा दिएको अभिव्यक्ति सम्झाउँदै प्रदर्शन गर्ने उनीहरुको तयारी छ ।
सुकुम्बासी अगूवामध्येका एक गोपाल पौडेलले आफूहरु बनस्थली हिँडिसकेको बताए । आफूहरुले शान्तिपूर्णरुपमा कार्यालय घेराउ गर्ने उनको भनाइ छ । रास्वपाको प्रतिवद्धता अनुसार सुकुम्बासीहरुको व्यवस्थापनबिना डोजर चलाउन नपाइने पौडेलले उल्लेख गरे ।
सरकारले भने भोली डोजर चलाउने तयारी गरिसकेको छ । हिजो सामान सार्न माइकिङ गरिएको थियो । अहिले केही सुकुम्बासी धमाधम सामान ओसारिरहेका छन् । केही चाहिँ आन्दोलन गर्न बनस्थली लागेका छन् । सुकुम्बासी बस्तीमै रहेका जेनजी अगूवाहरुले भने वनस्थली नजाने बताए । उनीहरुले थापाथलीमै बसेर सुकुम्बासीलाई साथ दिने भएका छन् ।

