काठमाडौं । प्रतिनिधि सभामा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले आज सभामुख डीपी अर्याललाई बुझाएको मस्यौदामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था उल्लेख छ।
मस्यौदामा भनिएको छ, ‘प्रधानमन्त्रीको निजीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभाले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको एक घण्टा निर्धारण गर्नुपर्दछ । तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकिएमा त्यसपछि लाग्ने बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नुपर्दछ ।’
प्रश्नको जवाफ प्रधानमन्त्रीले तत्काल सदनमै दिनुपर्ने उल्लेख छ। प्रधानमन्त्री बनेपछि बालेन शाहले अहिलेसम्म सदनमा बोलेका छैनन्। नियमावली बनेपछि अब प्रत्येक महिना सदनमा सांसदहरूले उठाएको प्रश्न दिनको लागि अनिवार्य रूपमा बोल्नुपर्ने भएको छ।

