काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने २० जना विदेशी महिला पक्राउ परेका छन् । पक्राउ परेकाहरु युगान्डाका रहेकाे प्रहरीले बताएकाे छ। उनीहरु पर्यटक भिसामा बस्दै आइरहेका थिए । पक्राउ परेका महिलाहरुको उमेर २४ वर्षदेखि ४७ वर्षसम्मको रहेका छन् ।
उनीहरुले काठमाडौंको ठमेल स्थितमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई केही व्यक्तिहरूले सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गरी बाटोमा हिँड्ने सर्वसाधारण मानिसहरूलाई समेत दुःख हैरानी दिने गरेका थिए ।
जिल्ला प्रहरी परिसरको प्रहरी टोलीले ठमेलस्थित विभिन्न स्थानहरूमा निगरानी तथा चेकजाँच गर्ने क्रममा काठमाडौं महानगरपालिका २६ ठमेल फायरचोक स्थित सार्वजनिक सडक खण्डबाट युगाण्डाका विदेशी महिलालाई पक्राउ गरेको हो ।
उनीहरुले बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरी दुःख हैरानी दिइरहेको अवस्थामा फेला पारेको परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।
उनीहरुलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको को म्याद थप अनुमति लिई अनुसन्धान जारी छ । प्रहरी वृत लैनचौरबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

