जो सँगालेर राख्नलाई
कुनै विशेष छैन
जो हिफाजत गर्नलाई
कुनै किमती छैन
जो अटाएर राख्नलाई
कुनै स्थान छैन
जसको न कुनै मोल छ
न हैसियत
न ल्याकत न त तक्दिर नै
खाली ऊ सन्दुकमा थन्काएर
राखेको सामग्री जस्तै
बेकसुर ऊ जेलघरमा
थुनिएको कैदी जस्तै
कति बाँचोस् ऊ आफूलाई
आफूभित्र मारेर
कति बसोस् ऊ खाली पानामा
मनोरम विनाको सचरित्र भएर
कति पुकारोस् ऊ कलमलाई
रित्तो पानामा पनि
बन्धक बनाइस् भनेर
आज आरोपित छ त्यो कलम
एक मनोहरा स्त्रीको बखान गरेर
आफ्नो खाली
हत्केलामा प्रेमरेखा कोरेर
जो आफू लेख्दा ‘तिमी’ लेख्थ्यो
जो तिमी
मुस्कुराउँदा मोनालिसा लेख्थ्यो
जो तिम्रो
तस्बिर नियालेर हाल लेख्थ्यो
जो तिमीलाई हेरेर जून लेख्थ्यो
तर यस्तै सबै लेखेर पनि
असफल छ आज ऊ
तिमीलाई ‘तिमी’ लेख्न नसकेर
यद्यपि पलपलको बहुत
बडो मुलाकात छ,तिमी सँग उसको
जो हावाको झोक्कासँग
तिमीलाई “मेरी” भनेर खबर पठाउँछ
तर जब बेमतलब हुन्छ उसको खबर
तब विवश हुन्छ
ऊ अदृश्य प्रकट हुन
अदृश्य तिम्रो हात समाउन
अदृश्य तिमीलाई सुमसुम्याउन
अदृश्य तिम्रो कोमल शरीर स्पर्श गर्न
अदृश्य तिम्रो रित्तो दिलको धड्कन छाम्न
र अदृश्य तिम्रो घनघोर परेलीहरूमा हराउन
जो हेरेर तिमीलाई हरघडी,
अथक द्रष्टा भइदिन्छ
जो हेरेर तिमीलाई एकोहोरो,
एकतर्फी प्रेमी भइदिन्छ
जो खेलेर तिम्रो नयनको दहमा पौडी,
पौडीबाज भइदिन्छ
हो,सजाएर मनमा तिम्रो तस्बिर,
निश्चल मन भइदिन्छ
जो संगालेर तिम्रो याद,
चोखो प्रेमी भइदिन्छ
तर तिमी उसले सम्झेर लगाएको
बाडुलीसम्म पनि आत्मसात गर्दिनौ
फोकट
मृतात्मा बिउँताउन खोजेजस्तो
जबरजस्त
भित्तामा हेरेर मुस्कुराउन खोजेजस्तो
त्यसैले अब चुँडालिदेऊ
उसका बेतारका भावनाहरू,
पुरीदेऊ उसका शब्दका गहिराइहरू,
पखालिदेऊ उसका व्यर्थका आँसुहरू,
र जलाइदेऊ उसका प्रेमिल मनहरू!
त्यसैले जिउँदो लास
त्यो एक प्रेमीको
च्यातिदेऊ त्यो प्रेमपत्र ।
-अशोक सुकुमार
शिखर न.पा.–११, मल्लिसात, डोटी।