काठमाडौं।
चाउरी नपरेका अनुहार भएका मान्छे छन् नि !
त्यिनिहरुले तिम्रै बुई चढेर गुलाब समात्ने भएका हुन् ।
त्यी सेतो गुलाब झैं कपाल भएका मान्छे छन् नि!
तिनिहरु नै हुन्, जसले आफ्नो जिन्दगी गुलाब बनाउन
तिम्रो जिन्दगीलाई डस्टबिनमा मिल्किएको गुलाबको डाँठ बनाए ।
तिनीहरु जस्तै, बरु तिमीपनि फोहोर बन्नपर्थ्यो ।
तिनिहरु फोहोर बने- जिन्दगीमा गुलाबै गुलाब फुलाए ।
तिमी सफा डाँठ बन्नेतिर लाग्यौ- तिम्रो जिन्दगी उजाड बगैंचा बन्यो ।
तिमीलाई थाहा छैन र?
मरुभूमिमा गुलाब फुल्दैन।
अनि मरुभूमि जस्तै भएको तिम्रो जिन्दगीमा कहाँबाट गुलाब फुल्छ ?
गुलाब फुल्न त-
पानी, माटो, ठाउँ, उचाई, गहिराईको तारतम्य मिलेको हुनुपर्छ ।
अनि एउटै कुराको तारतम्य नमिलेको तिम्रो जिन्दगीमा कहाँबाट गुलाब फुल्छ ?
गुलाब त मानिदिनपर्नेहरुको सभा समारोहमा फुल्छ ।
गुलाब त मालिकको-
खुट्टामा, हातमा, घाटीमा, शिरमा फुल्छ ।
गुलाब त वरिष्ठहरुको-
गेटमा, टोईलेटमा, कोठामा, घरमा फुल्छ ।
गुलाब त महामहिम् ज्युहरुको-
समाजमा, देशमा, विदेशमा फुल्छ ।
गुलाब त पाँचतारे मा फुल्छ ।
गुलाब त महलमा फुल्छ ।
गुलाब हर्षोल्लास मा फुल्छ ।
अनि गुलाब पैसा मा फुल्छ ।
अनि तिमी चाहिँ को हौ र तिमीले गुलाब पाउनलाई ?
तिमीले किन गुलाब पाउनपर्यो ?
तिमी त गरीब हौ ।
तिमी त मजदुर हौ ।
तिमी त किसान हौ ।
तिम्रो त आफ्नै खेत छ-खेतमा वर्षेनी खेर जाने अन्न छ ।
तिमीसङ्ग त सडकको नाली छ-नालीमा फोहोर छ-नाली सफा गर्ने तिम्रा हात छन् ।
तिमीसङ्ग त पिजडा जस्तो घर छ-घरमा आकाशमा बादल लाग्दा चुहिने छानो छ ।
अनि तिमीसङ्ग गुलाब किन हुनुपर्यो?
तिमीसङ्ग गुलाब पाउनपर्ने कारण के छ ?
कसैलाई महामहिम् बनाउन सहयोग गर्दैमा तिमीले गुलाब पाउनुपर्छ भन्ने पनि त छैन ।
कसैको लागि तिर, भिर, पिर पन्छ्यायौ भनेर तिमीले गुलाब पाउनुपर्छ भन्ने पनि त हैन ।
त्यो तिम्रो त्यो निर्दोष अनुहार र तिम्रा त्यी निष्पक्ष आँखाले तिमीलाई गुलाब दिँदैनन् ।
गुलाब पाउने सपना मात्रै देखेर गुलाब पाईन्छ कहीँ ?
गुलाब पाउन त ठग-फटाहा-चोर बन्नपर्छ ।
सडकका पेटीमा त तिमी नै छौ त ।
अनि सडकका पेटीलाई ठग्न किन नसिकेको ?
पुलको मुनी तिमी नै सुतिराको छौं त ।
अनि पुल मुनिको फोहोर चोर्न कसले सिकाईदिन्छ ?
खोलाको तिरमा
भएजती पिरमा
नदीको किनारमा
तिम्रै प्रतीक्षा गरीरहेको ईनारमा
त्यो विकट गाउँमा
उस्तै उरन्ठेउलो ठाउमा
तिमीलाई बेच्न कुरीरहेको यो शहरमा
सपना तिम्रो बेची आफ्नो साम्राज्य खडा गरीरहेका
छोटे-बडे मालिकहरुको रहरमा।
सबैमा तिमी छौ त !
उल्लेखित सबैको फटाई गर्न किन नसकेको ?
मालिकलाई गुलाबको फुल मनपर्छ ।
तिमी त गुलाबको डाठ हौं ।
जो न त ओईलाउन सक्छ
न त हरियो फर्किन सक्छ।
तिमी त्यो गुलाबको त्यस्तो डाँठ हौ
जसलाई मालिकहरुले-
आपत्तीमा याद गर्छन् ।
अप्ठ्यारो समाउछन् ।
विपत्तीमा टेक्छन् ।
तर सहजतामा डस्टबिनमै मिल्काईदिन्छन् ।
-रामचन्द्र जोशी