धनुषा- जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको भेन्टिलेसन फोडेर फरार भएका थुनुवाहरू पक्राउ परेका छन् । विभिन्न मुद्दामा पक्राउ परी धनुषाको हिरासतमा रहेका ९ जना थुनुवा सोमबार राति फरार भएका थिए । सात जनालाई हिजै पक्राउ गरेका थिए भने दुई जना आज पक्राउ परेको धनुषा प्रहरी प्रवक्ता एवम् डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार सात जनालाई धनुषाबाटै पक्राउ गरिएको छ भने अन्य दुई जना भारतबाट पक्राउ परेका हुन् ।
फरार थुनुवा खोजी गर्दै जाँदा फरार मध्येका सत्यम झालाई तत्कालै प्रहरीले जनक चोकबाट पक्राउ गरिएको उनले बताए । त्यस्तै अन्य ६ जना थुनुवालाई धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरिएको थियो ।
लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक फरार भएका थिए ।