राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु भएको बताएका छन् ।शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ । यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा ।’
गृहमन्त्रीसमेत रहेका लामिछानेले रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी पनि गरे ।उपलब्धि नै भ्रष्टाचारका ठुला फाइल खोल्नुलाई लिइरहेको भन्दै उनले आफूहरु सरकारमा गएर विधिको स्थापाना गरेको दाबी गरे ।
यो पनि पढ्नुहोस ,
राजीनामा पत्र बोकेर हिंडेका छौं
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला आएको बताएका छन् ।शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
सरकार पुरातन शैली र कर्मकाण्डी हिसाबमै चलेकोले आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको उनले बताए । ‘ हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौं । केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुपर्यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौं ।’सरकारमा गएपछि शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्ने कुरा आफूहरुले अनुभव गरिरहेको बताउँदै उनले वर्तमान राजनीतिक परिस्थितिबारे पार्टीभित्र सल्लाह पनि भएको बताए ।
 
                                                             
         
         
         
         
         
         
         
    
                           
                                                       
    
    
    
    
   

