काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा प्रदर्शन गर्दै छ ।
सरकार समक्ष राखेका ४० बुँदे माग पूरा गराउन जनदबाब सृजना गर्ने उद्देश्यसाथ राप्रपाले काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागेको हो।
भृकुटीमण्डपबाट हुने प्रदर्शन काठमाडौंका विभिन्न ठाउँको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ।
राप्रपाले आजको प्रदर्शनमा ५० हजार बढी मानिस उतार्ने दाबी गरेको छ। राप्रपाले संवैधानिक राजतन्त्रका पुनस्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको छ।
पार्टीले अघि सारेको ४० बुँदे माग पूरा गराउन दबाब दिन जिल्लाहरूमा विभिन्न कार्यक्रम गरिएको र आज काठमाडौँमा हुन लागेको जनप्रदर्शनमा देशभरका कार्यकर्ताहरू सहभागी हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपाले राखेको ४० बुँदे मागपत्रमा सरकारी कर्मचारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत उल्लेख गरेको छ । सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललिता निवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठुलो सुन काण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग पनि राप्रपाको छ ।
सरकारले माग सम्बोधन नगरेको भन्दै राप्रपाले दबाब स्वरुप प्रदर्शन गर्न लागेको हो। प्रदर्शन शान्तिपूर्ण हुने तर रोक्न खोजे निषेधित क्षेत्र तोडेर अघि बढ्ने अध्यक्ष राजेन्द्र लिङ्देनको चेतावनी छ।
                                                            
        
        
        
        
        
        
        
        
        
   
                           
                                                      
   
   
   
   
   
