काठमाडौँ । नागरिक अगुवाको एक समूहले सडक व्यापारीमाथि अन्धाधुन्ध बल प्रयोगप्रति माफी माग्न काठमाडौं महानगरपालिका र मेयर बालेन शाहलाई आग्रह गरेको छ ।
अनिता न्यौपाने थपलिया, इला शर्मा, कनकमणि दीक्षित, कमल बिक, कृष्ण गौतम, कुन्दन अर्याल, चरण प्रसाईंलगायतका अधिकारकर्मीहरूले मेयर बालेनलाई खुला पत्र लेख्दै यस्ता घटना दोहोरिन नदिन पनि ध्यानाकर्षण गराएका छन् । उनीहरूले सङ्घीय राजधानी सहर प्रमुख सबै भन्दा बढी उदार लोकतान्त्रिक हुनुपर्ने हो भए पनि सरोकारवालाहरूसँग परामर्शका सबै ढोका बन्द गर्दै आएको र आफ्नो कार्यशैली र व्यवहारबाट अलोकतान्त्रिक छवि स्थापित गर्दै लगेकोमा असन्तुष्टि जनाएका छन् ।
खुलापत्रमा महानगर प्रमुखको हैसियतले यस मानव अधिकार उल्लंघनको घटनाप्रति जिम्मेवार हुन र त्यस्तो घटना पुनः नदोहोरिने सुनिश्चित गर्न तथा छानबिन गरी दोषीलाई कारबाही गर्न बालेनलाई आग्रह गरिएको छ ।
‘साथै महानगरले पीडितप्रति माफी मागी उनीहरुलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आफ्नो दायित्व पूरा गरोस् भन्ने हाम्रो विशेष माग छ’ खुलापत्रमा भनिएको छ ।

