काठमाडौँ । काठमाडौंस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
आज आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पुर्याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।