काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताउनु भएको छ । आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्नका लागि यी दुई वस्तु आयातमा रोक लगाउनु पर्ने भन्दै उहाँले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गर्नु भएको हो ।
शुक्रबार बिहान एउटै जहाजमा काठमाडौंबाट चितवनको भरतपुर पुगेका दुवै नेताहरु भरतपुर विमानस्थलमा सँगै भेटिनु भएको थियो । विमानबाट ओर्लिएर गाडी चढ्न लाग्नु भएका एमाले अध्यक्ष ओलीसँग भएको छोटो सम्वादमा रास्वपा अध्यक्ष लामिछानेले केरा र माछाको आयात रोक्नका लागि ओलीको साथ खोज्नु भएको हो ।
‘स्वदेशी कृषकको उत्पादन रक्षाका लागि माछा र केरामा आयात प्रतिबन्ध लगाउन आवश्यक भइसकेको छ,’ लामिछानेले ओलीलाई भन्नुभयो । जवाफमा ओलीले हुन्छ भन्ने जवाफ फर्काउनुभयो । सँगै रहेकी ओली पत्नी राधिकाले रविको कुरामा सही थाप्दै अण्डा आयातमा पनि रोक लगाउनु पर्ने प्रस्ताव गर्नुभयो । जवाफमा रविले भन्नुभयो, ‘पहिले माछा र केरामा प्रतिबन्ध लगाउँ बिस्तारै अन्य वस्तुमा पनि लगाउँदै जाने हो ।’