काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनका प्रत्यासी ३७ र प्रदेशसभाका ३७ गरी ७४ जनाले निर्वाचन खर्च विवरण नबुझाएको बताएको छ । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र बुझाउनुपर्ने कानुनी प्रावधान छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण समयमै बुझाए पनि सो विवरण तोकिएको समयभित्र सार्वजनिक नगर्ने उम्मेदवारलाई आयोगले कारबाही गर्ने भएको छ । आयोगले सम्बन्धित उम्मेदवारलाई १२ वैशाखसम्म खर्च विवरण सार्वजनिक गर्न समयसीमा तोकेको थियो ।
आयोगका अनुसार उम्मेदवारले आमसञ्चार माध्यम, फेसबुक, ट्वीटर, इन्स्टाग्रामबाट निर्वाचनमा गरेको खर्च विवरण सार्वजनिक गर्न सक्नेछन् । सार्वजनिक गरेको प्रमाणसहितको जानकारी सम्बन्धित उम्मेदवारले आ–आफ्नो प्रदेश वा जिल्ला निर्वाचन कार्यालयलाई दिनुपर्नेछ । सो अवधिभित्र खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुन्छ ।
गत ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ५ हजार ५६१ जनाले निर्वाचन खर्च विवरण समयमै बुझाएका थिए । तर यीमध्ये प्रतिनिधिसभा निर्वाचनका प्रत्यासी ३७ र प्रदेशसभाका ३७ गरी ७४ जनाले निर्वाचन खर्च विवरण नबुझाएको आयोगले बताएको हो।