शुक्रबार, मंसिर २६, २०८२ गौतम बुद्ध विमानस्थल निर्माणमा पैसा खाएको आरोप खेपिरहेका हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ भागेर अमेरिका गएका हुन् भन्ने विषय लिएर यतिबेला सामाजिक संजाल निकै तातेको छ। रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ आफ्नो टाउकोमा ऋण थुपारिएको खुलासा गरिरहँदा पनि अचानक अमेरिका पुगेको दृश्यले ‘धुर्मुस भाग्यो’ भन्ने हल्लाले ठूलै तहल्का मच्चाइरहेको छ।तर यस विषयमा भने धुर्मुसले आफ्नो फेसबुकमार्फत कडा प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्—आफूविरुद्ध लगाइएको ‘भागेको’ आरोप पूर्ण रूपमा गलत र गैरजिम्मेवार छ। उनको दाबी छ, अमेरिका गएको कारण छोरीको स्वास्थ्य उपचार मात्र हो, भागेर कुनै पनि कानुनी जिम्मेवारीबाट उम्किने उद्देश्य म मा छैन।
धुर्मुसले प्रकाशित गरेको लामो स्टाटसमा उनले पछिल्ला वर्षमा आफू र सुन्तलीले भोगेको मानसिक, आर्थिक र सामाजिक चाप विस्तृत रूपमा उल्लेख गरेका छन्। उनका अनुसार, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा हजारौँ नागरिकको भरोसा, चन्दा र श्रमलाई आधार बनाएर काम अघि बढाइयो, तर अन्तिममा आभारभन्दा ज्यादा ‘अपजस’ मात्र पाइयो।
उनले लेखेका छन्, “राज्यका हरेक निकाय—प्रधानमन्त्री, मन्त्री, अख्तियार, मन्त्रालय—सबैले परियोजनामा कुनै आपराधिक गतिविधि नभएको प्रमाणित गरिसके। संरचना राज्यले लियो, तर दायित्व हाम्रो काँधमै छोडियो। यही नै सबैभन्दा ठूलो दुख हो।”
धुर्मुसका अनुसार, करिब ६० करोड बराबरको संरचना राष्ट्रलाई बुझाइसकेपछि आफूले अपेक्षा गरेको थियो—सरकारले बाँकी प्रक्रिया छिटो टुंग्याओस्, ऋण फुकुवा वा समाधानका विकल्प खोजियोस्, पारदर्शिता खुलेआम प्रस्तुत गरियोस्। तर, उनका शब्दमा, “छानबिनले क्लीन–चिट दिएको परियोजनामै फेरि आरोपहरूको वर्षा हुनु न्यायको अपमान हो।”
फेसबुक स्टाटसमा उनले सामाजिक सञ्जालमा ‘भाग्यो’ भन्ने हल्ला फैलाउनेहरूलाई लक्षित गर्दै लेखेका छन्—फोटो खिचेर, सूचना तोडमोड गरेर, भावनामा खेल्दै आरोप हान्नु सजिलो छ; तर पाँच वर्षसम्म देश–देशान्तरी दौडिएको श्रम, रात–दिनको समर्पण र रंगशाला बनाउन खर्चिएको जीवनको मूल्य बुझ्न धेरैलाई फुर्सद छैन।उनले सरकारलाई पनि सीधा आग्रह गरेका छन्—रंगशालाको बाँकी प्राविधिक, वित्तीय र प्रशासनिक प्रक्रिया तत्काल अघि बढाइयोस्। ऋणका विषयमा निष्पक्ष निर्णय गरियोस् र झुठा आरोपहरूको आधिकारिक स्पष्टीकरण दिन राज्य चुप नबसोस्।
धुर्मुस–सुन्तलीको यस प्रतिक्रियाले सामाजिक सञ्जालमा चलिरहेको विवादले अर्को मोड दिएको छ। एकातिर, रंगशाला निर्माणको पारदर्शिता र जिम्मेवारीका विषयमा प्रश्न उठिरहेका छन्; अर्कोतिर, परियोजना चलाउने व्यक्तिहरूमाथि चरम व्यक्तिगत आक्रमणले नयाँ बहस जन्माएको छ।अब राज्य, कलाकार र सार्वजनिक भावनाबीचको यो त्रिकोण—कहाँ टुंगिन्छ भन्ने उत्सुकता थपिँदै गएको छ।

