काठमाडौँ /८ मंसिर उज्यालो नेपाली पार्टीले दर्ता प्रक्रियापछि पहिलोपटक बागमती प्रदेश स्तरीय भेला आयोजना गरेको छ। राजधानीको इन्द्रेणी फुडल्याण्डमा हुने यो कार्यक्रमलाई पार्टीले आफ्नो संगठन विस्तारको औपचारिक सुरुवातका रूपमा लिएको छ।
भेलामा बागमती प्रदेशका संयोजक मनोनयन गर्ने, प्रदेश संरचना कसरी विस्तार गर्ने, र आगामी दिनमा पार्टीले लैजान चाहेको संगठनिक गति तथा कार्यविधिबारे विस्तृत छलफल हुने पार्टी स्रोतले जनाएको छ।
कार्यक्रममा पार्टीका अध्यक्षसहित केन्द्रीय पदाधिकारी, विभागीय प्रमुख, र विभिन्न प्रदेश–जिल्लाबाट आएका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। भेला मार्फत नवदर्ता पार्टीले बागमती प्रदेशमा आफ्नो राजनीतिक सक्रियता औपचारिक रूपमा सुरु गर्दै छ, जसलाई नेतृत्वले आगामी संघीय र स्थानीय तहमा लक्षित अभियानको पहिलो चरणका रूपमा हेरेको छ।
पार्टीले भेला सफलतापूर्वक सम्पन्न भएपछि शीघ्रै अन्य प्रदेशहरूमा पनि यस्तै संगठन विस्तार कार्यक्रम अघि बढाउने तयारी गरिरहेको बताइएको छ।

