काभ्रेपलाञ्चोक ,अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेका सुनार बिहीबार बिहान उपस्थित भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् । उनका अनुसार अदालतमा उपस्थित भएका सुनारको बयानको जारी छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा उनको बयान भइरहेको छ । त्यसपछि थुनछेकको बहस हुनेछ ।
अधिवक्ता मनीषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक संजालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजूरी दिएकी थिइन् ।
गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकाले ब्यूरोले उक्त मुद्दालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । अनुसन्धानका क्रममा सुनार फरार रहेकोकोले प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेस गरेको थियो ।
जिल्ला अदालतमा ८२ सालको श्रावणमा दोस्रो मुद्दाको रुपमा दर्ता भएको (८२ सी१–००२ नम्बर) को मुद्दा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो । त्यसको तीन दिन पछाडि साउन ५ गते पक्राउ पुर्जी जारी भएको थियो । स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरिएको थियो ।
अदालतका श्रेस्तेदार कार्कीका अनुसार गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो ।
हालसम्म फरार सूचीमा रहेका सुनार बिहीबार जिल्ला अदालत काभ्रेमा हाजिर भएका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धानका क्रममा समय सीमाभित्र पक्राउ गर्न नसकेपछि पक्राउबिना नै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतको अवहेलना सम्बन्धी मुद्दा भएको हुनाले अदालत आफैंले सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

