पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीले सबै राजनीतिक दलले आत्मसमीक्षा गर्नुपर्ने औंल्याएकी छन् । जेनजी आन्दोलनका घाइते भेट्न प्रहरी अस्पताल पुगेकी उनले बाहिरिने क्रममा नयाँ पुस्ता के चाहन्छन्, देश र युगले के मागेको छ, त्यो अनुसार अघि बढ्नुपर्नेमा जोड दिइन् ।
‘मैले आन्दोलनलगत्तै यो सबै कुराहरू भनेको छु । शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देश भनेर विश्वले चिनेको देश । तर, यस्तो आगजनी, तोडफोड राज्यका सर्वोच्च अंगहरुमा किन त्यस्तो भयो ? २३ गतेको घटनाको मात्रै रियाक्सन हो अथवा यो प्रायोजित थियो भन्ने कुरा चाहिँ हामीले हेर्नुपर्छ’, भण्डारीले भनिन् ।
उनले पूर्वाग्रह, बदलाको भावना, प्रतिशोधको भावनामा नबही राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर काम गर्न नेता र नागरिकलाई आग्रह गर्दै आफू पनि त्यही गर्ने बताइन् ।
नेतृत्व सच्चिनुपर्ने अवस्था आइलाग्यो अब चाहिँ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘अब सबै… नेकपा एमालेमात्रै होइन, अरु पार्टीका नेतृत्वले… सबै-सबैले आत्मसमीक्षा गर्नुपर्छ ।’
भण्डारीले थपिन्, ‘राष्ट्रपति कार्यालय, सिंहदरबार, सर्वोच्च अदालत, पार्लियामेन्ट भवन, सारा देशभरि सरकारी अफिस, प्रहरी कार्यालयमाथिको विध्वंसको रहस्य के हो ? एकै दिनमा, एकै समयमा देशभरि कसरी आगो दन्कियो ? यो चाहिँ हामी नेपालीले बुझ्नुपर्ने र नेपाललाई माया गर्ने सबैले बुझ्नुपर्ने विषय छ ।’
भण्डारीले आफ्नो घर आन्दोलनकारीबाट आगजनी र लुटपाट गरिएको प्रसंग पनि निकालिन् ।
‘मैले त हामी गाउँमा बस्छौँ । रिङरोड बाहिर हो । कुनै आक्रमण हुन्छ भन्ने मैले चाहिँ सोचेको थिइनँ । म निश्चिन्त भएर बसेँ उहाँहरुको मागलाई सरकारले सुन्दिनुपर्छ भन्नेमै थिएँ । त्यस्तै पर्यो भने नेतृत्व परिवर्तन गरेर भएपनि अगाडि बढ्नुपर्छ भन्ने हिसाबले म त समाचार हेरेर बसिराखेको थिएँ’, उनले भनिन्, ‘तर, एक्कासी चाहिँ पहिले अब ढुंगामुढा, तोडफोड भयो । र, आगजनी गर्ने अवस्था भएपछि मसँग अब ८६ वर्षको वृद्ध आमा हुनुहुन्थ्यो । बिरामी बहिनी थिइन् । उहाँहरुलाई जोगाउनुपर्ने कर्तव्य पनि हुनाले, आर्मीको टोली लिडरले एकदम विध्वंसमा उत्रिने भए, निस्किनुपर्छ भन्ने खालको सल्लाह भएपछि हामी निस्कियौँ । हामी हुँदाहुँदै करिब-करिब आगलागी भइसकेको थियो । केही पनि त्यहाँबाट झिक्ने भन्ने कुरा भएन । तीन दिनसम्म आन्दोलनकारीका नाममा को-को हुन्, गएर आगजनी, तोडफोड, लुटपाट गरिरहे।’
उनले राष्ट्रपति हुँदा देश-विदेशका विशिष्ट व्यक्तिले दिएको चिनो, उपहार हुन्छ एउटा सानो संग्रहालय बनाएर आउने पुस्ताको लागि हेर्न हुन्छ भनेर कलेक्सन गरेर राख्ने सोच भए पनि ती सबै जलेको सुनाइन् ।

