रुकुम। नेकपा (माओवादी केन्द्र) लाई रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाबाट ठूलो धक्का लागेको छ । पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आठबीसकोटका करिब ५५ जना दलित समुदायका कार्यकर्ताहरूले पार्टीको सम्पूर्ण जिम्मेवारी र साधारण सदस्यता सामूहिक रूपमा परित्याग गरेका छन् ।
बिहिबार पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पठाइएको सामूहिक राजीनामा पत्रमा उनीहरूले पार्टीप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन् । लामो समयदेखि संगठन निर्माण, आन्दोलन र जनताको पक्षमा समर्पित रहँदै आएका उनीहरूले अब पार्टी सिद्धान्तविहीन, मूल्यहीन र पहुँच आधारित गुटको अखडा बनेको आरोप लगाएका छन् ।
राजीनामा पत्रमा भनिएको छ,“पछिल्ला केही वर्षदेखि पार्टीभित्र सिद्धान्तभन्दा स्वार्थ,संगठनभन्दा गुट, र निष्ठाभन्दा पहुँच हावी हुँदै गएको छ। इमानदार कार्यकर्ताको योगदानको कदर छैन,आत्मसमिक्षा छैन, निर्णयमा पारदर्शिता छैन, चाकडी संस्कृति मौलाउँदै गएको छ।”
साथै,पार्टी भ्रष्टाचार र अवसरवादले भरिएको भन्दै उनीहरूले यो अवस्था झनै भयावह बन्दै गएको उल्लेख गरेका छन्। “नेतृत्व व्यक्तिगत स्वार्थमा लिप्त छ, संगठन मूल्यहीन हुँदै गएको छ। पार्टी अब हाम्रो विचार, निष्ठा र आत्मसम्मानको स्थान दिइरहेको छैन,” पत्रमा उल्लेख छ।