काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले कानूनी शासनमा विश्वास गर्नुपर्ने बताएका छन्। सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचार मुद्दामा कोही दोषी छ भने कांग्रेस भएकै कारणले उन्मुक्ति पाउन नहुने बताएका हुन् ।
उनले भने, ‘हामी कानूनी शासनमा विश्वास गर्छौँ, निर्दोष कोही पनि पर्न हुँदैन । दोषी छ भने पनि कोही छुट्नुहुँदैन, कोही कांग्रेस छ भन्दैमा दोषी छ भने पनि उन्मुक्ति पाउनुहुँदैन, कांग्रेस भएकै कारणले पनि पर्न हुँदैन । हामी कानूनी शासनमा विश्वास गर्छौँ ।’
महामन्त्री थापाले सरकारलाई प्रभावकारी बनाउन लागिरहेको भन्दै नसके मान्छे फेरेरै भए पनि प्रभावकारी बनाएर जाने बताए । उनले अहिले सहमतिअनुसार सरकार अगाडि बढाउने प्रयास गरिरहेको बताए ।