काभ्रे। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूले पाएको ज्ञानलाई व्यवहार्य उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् ।
धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालको परिचय ‘बहादुर’ मात्र नभई ‘इमानदार, मेहनती र शालीन व्यक्तिको देश’ भनी स्थापित गराउनुपर्नेमा जोड दिँदै सीपयुक्त जनशक्तिले अनुसन्धान र नवप्रवर्तनमा लागेर देशको सेवा गर्नुपर्ने आग्रह गरे ।
उनले गत वर्ष एसइईको नतिजामा ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु नाजुक अवस्था रहेको भन्दै सरकारले सुधारको काम गरिरहेको सुनाए । उनले यस वर्ष ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने सरकारले अनुमान गरेको बताए ।
नेपाल कहिल्यै कुनै मुलुकको अधीनस्थ नरहेको र कहिल्यै नरहने बताउँदै उनले नेपाल सानो राष्ट्र भए पनि स्वाधीनताका साथ बसेको स्पष्ट गरे ।
उनले भने, ‘दुनियाँमा नेपाल नेभर कोलोनाइज्ड हो । यो कसैको मातहतमा रहेन र रहँदैन पनि । हामी सानो देश भए पनि विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पुर्खाले चक्कुको सहारमा हराएर देशको स्वाधीनता बचाएका हुन् । नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ ।’
उनले इतिहासका तथ्यहरूले पहिले देखि नै नेपालमा ‘रिसर्चर’ भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपिललगायत जस्ता वनस्पतिको महत्त्व पुर्खाले नै पत्ता लगाएको बताए ।