काठमाडौँ ।सामान्य शारीरिक गतिविधि र तनावरहित अवस्थामा पनि यदि शरीरका विभिन्न प्रणालीमा रक्तसञ्चार गर्ने धमनीहरूमा १४० mmHg सिस्टोलिक र ९० mmHg डायस्टोलिकभन्दा बढी रक्तचाप मापन गरिन्छ भने यस अवस्थालाई उच्च रक्तचाप (Hypertension) भनिन्छ। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, मुटु तथा रक्तसञ्चार प्रणालीसँग सम्बन्धित रोगहरू विश्वका प्रमुख मृत्युका कारणहरूमा पर्दछन्। उच्च रक्तचाप एक नसर्ने तर दीर्घकालीन र गम्भीर प्रकृतिको रोग हो, जसले वर्षेनी विश्वभर झन्डै ७५ लाख मानिसको मृत्यु गराइरहेको छ।
मुख्य कारणहरू
उच्च रक्तचापका कारणहरू दुई श्रेणीमा विभाजन गर्न सकिन्छ:
प्राथमिक (आधारभूत) उच्च रक्तचाप
यसमा वंशाणुगत प्रवृत्ति, वातावरणीय प्रभाव, उमेर, लिङ्ग, जातीयता, खानपान र जीवनशैली जस्ता कारकहरू मुख्य भूमिका खेल्दछन्।कुनै निश्चित कारण पत्ता नलागे पनि ती कारकहरूले रक्तसञ्चार प्रणालीमा प्रत्यक्ष असर पार्छन्।
द्वितीयक (दोस्रो) उच्च रक्तचाप
मिर्गौला, इन्डोक्राइन ग्रन्थी, उत्सर्जन प्रणालीको रोग, गर्भावस्था, मोटोपना, अत्यधिक मदिरा वा नशालु पदार्थ सेवन, मानसिक तनाव, रक्तनलीको संरचनागत खराबी आदिका कारण उत्पन्न हुन्छ।
कसरी लाग्दछ उच्च रक्तचाप?
शरीरका ग्रन्थीहरूले हर्मोन सन्तुलन गरी अंगहरूको गतिविधि नियमित गर्छन्। मुटु र रक्तनली चुस्त, लचिलो र त्रुटिरहित हुनुपर्ने रक्तसञ्चार प्रणालीमा यदि अवरोध आउँछ—जस्तै धमनीहरूमा बोसो वा कोलेस्टेरोलको थुप्रो जम्न थाल्यो भने—रक्तचाप बढ्न थाल्छ। विशेषगरी मिर्गौलाको असन्तुलनले उच्च रक्तचाप निम्त्याउँछ। यदि मिर्गौलाले पानी र सोडियम ठीकसँग निष्काशन गर्न सकेन भने, शरीरमा सो पदार्थहरू संचित भई रक्तसञ्चार प्रणालीमा दबाव बढ्छ। साथै, रेनिन, एन्जियोटेन्सिन र अल्डोस्टेरोन जस्ता हर्मोनहरू असन्तुलित भएर रक्तनली संकुचित पार्छन्, जसले रक्तचाप उच्च बनाउँछ।
प्रभावहरू
उच्च रक्तचापलाई “मौन हत्यारा” पनि भनिन्छ, किनकि यसको प्रारम्भिक चरणमा खासै लक्षण देखिँदैनन्, तर दीर्घकालीन असर अत्यन्त गम्भीर हुन्छ। मुटुले धेरै बलपूर्वक रगत पम्प गर्नुपर्दा यसको भित्ताहरू बाक्ला बन्छन्, जसले हृदयाघातको जोखिम बढाउँछ। उच्च रक्तचापले मिर्गौलामा संयोजी तन्तु जम्मा गराएर यसले पिसाबमा प्रोटिन चुहिने अवस्था ल्याउँछ (Proteinuria)। समयसँगै मिर्गौलाको कार्यक्षमता नष्ट हुन्छ। रक्तस्राव, मस्तिष्कघात (Stroke), दृष्टि कमजोर हुनु वा स्थायी क्षति पुग्न सक्छ।
नियन्त्रणका उपायहरू
नियमित रुपमा रक्तचापको निगरानी र बायोकेमिकल परीक्षण गर्नु। मानसिक तनावबाट जोगिनु, पर्याप्त निद्रा लिनु। धुम्रपान, मद्यपान, नशालु पदार्थको सेवन त्याग गर्नु।कोलेस्टेरोलयुक्त र अत्यधिक चिल्लो खानेकुरा परहेज गर्नु। नियमित व्यायाम, योग, ध्यान र सन्तुलित भोजन अपनाउनु।
उच्च रक्तचाप एक यस्तो रोग हो जसको सुरुवात प्रायः लक्षणविहीन हुन्छ, तर दीर्घकालीन असर गम्भीर हुन्छ। त्यसैले यस रोगबारे सचेत रहनु, समयमै परीक्षण गर्नु र जीवनशैलीमा सन्तुलन ल्याउनु नै यसको प्रभावकारी रोकथाम हो। स्वास्थ्यप्रद बानी–व्यवहार र नियमित चेकअपमार्फत यो मौन घातक रोगलाई जित्न सकिन्छ।